भैरहवा । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले भैरहवामा पाँचतारे होटल सञ्चालनमा ल्याएको छ । ग्रुपको यो पहिलो पाँचतारे होटल हो ।  साढे २ अर्ब रुपैयाँ लगानीमा ग्रुपले पहिलो पाँच तारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको हो । जुन होटल भैरहवाको अञ्चलपुरमा चार बिघा क्षेत्रफलमा फैलिएको छ । 

होटलमा डिलक्स एक्जुकेटिभ स्वीट, प्रेसिडेन्टियल स्वीट, स्वीट र ७२ वटा डिलक्ससहित चार तहका ८५ वटा कोठा छन् । होटलमा क्यासिनोको समेत सुविधा छ । यस्तै नेपालकै ठूला सभा हल, ३ वटा सेमिनार हल, लबी लाउञ्ज, अल डे डाइनिङ, रुफ टप रेष्टुरेन्ट, स्वीमिङ पुल, फिटनेस, जिम हल, स्पासहितको हेल्थ क्लब, लङ टेनिस कोर्ट लगायतका पूर्वाधार होटलमा राखिएका छन् ।

होटलभित्रका सबै संरचनाहरुमा बुद्धको जीवनीसँग सम्बन्धित छ ।  होटलमा तीन सय जनाले रोजगारी पाएको ग्रुपले जनाएको छ ।  २०७६ बैशाखमा होटलको शिलान्यास गरिएको थियो । चार वर्षको अवधिमा होटल सञ्चालनमा आएको हो । करिव साढे २ अर्व लगानी रहेको यो होटल पूर्ण संचालनमा आइपुग्दा करिब ३०० कर्मचारीले प्रत्यक्ष रोजगारी पाउने ग्रुपका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपानेले बताए । 

गौतम बुद्धको जन्मस्थल तथा हालै मात्र संचालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको यस अत्याधुनिक तथा सुविधासम्पन्न होटलको नियमित सेवा संचालनमा आउँदा, स्वदेशी तथा विदेशी अतिथिहरुको सेवा र सत्कार गर्दा यसले सिङ्गो देशकै पर्यटनमा टेवा पुग्ने  ग्रुपले विश्वास व्यक्त गरेको छ ।  

होटल लुम्बिनीबाट २० किलोमिटरको दुरी पर्दछ । यस्तै अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किमि र सिद्धार्थ हाइवेबाट करिब २०० मिटरको दूरीमा होटल रहेको छ । 

२५ वर्षअघिको त्यो यात्रा
सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी २५ वर्षअघि सुदूरपश्चिमको कैलालीको टिकापुरमा ग्रामीण स्तरको खाजा घरका रुपमा सुरू भएको थियो । विस्तारै ग्रुपले खाजा घरलाई विस्तार गर्दै कटेज रेस्टुराँ, तीनतारे र चारतारे स्तरका सहित ३२ वटा शाखा सञ्चालन गरिसकेको छ ।

ग्रुपको आफ्नै लगानी तथा व्यवस्थापनमा कर्णालीको चिसापानी, नेपालगञ्जको धम्बोजी र कारकाँदो, रुपन्देहीको बुटवल र भैरहवा, सुर्खेत, चितवनको चुम्लिङटार, काठमाडौंको सुन्धारा, तिनकुने, पुरानो बानेश्वर, बौद्ध, ललितपुरको धोबिघाटमा होटल तथा रेस्टुरेण्ट सेवा सञ्चालनमा छन् । 

यस्तै, एस क्याफे ब्राण्डमा क्याफे सेवाहरुमा बाँकेको नेपालगञ्ज र कोहलपुर, काठमाण्डौँको तिनकुने, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसर भित्रमा दुईवटा क्याफेहरु सञ्चालनमा रहेका छन् ।

Featured In: