सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीले भैरहवामा पाँचतारे होटल सञ्चालनमा ल्याएको छ। ग्रुपको यो पहिलो पाँचतारे होटल हो।

साढे २ अर्ब रूपैयाँ लगानीमा ग्रुपले पहिलो पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको जनाएको छ। भैरहवाको अञ्चलपुरमा रहेको यो होटल चार बिघा क्षेत्रफलमा फैलिएको छ।

होटलमा डिलक्स एक्जिक्युटिभ स्वीट, प्रेसिडेन्सियल स्वीट, स्वीट र ७२ वटा डिलक्ससहित चार तहका ८५ वटा कोठा छन्। होटलमा क्यासिनोको समेत सुविधा छ।

त्यस्तै सभा हल, तीनवटा सेमिनार हल, लबी लाउन्ज, अल डे डाइनिङ, रूफ टप रेस्टुरेन्ट, स्विमिङ पुल, फिटनेस, जिम हल, स्पासहितको हेल्थ क्लब, टेनिस कोर्ट लगायतका पूर्वाधार होटलमा छन्।

 

होटलमा तीन सय जनाले रोजगारी पाएको ग्रुपले जनाएको छ। चार वर्षमा सम्पन्न गर्ने गरी २०७६ वैशाखबाट होटल निर्माण सुरू गरिएको थियो।

हालै सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेकाले यो होटल स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने ग्रुपका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपानेले बताए।

होटल लुम्बिनीबाट २० किलोमिटर दुरी छ। त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलोमिटर र सिद्धार्थ राजमार्गबाट करिब दुई सय मिटर दुरीमा छ।

Featured In: